जीतपुरबाट सुरु भयो बारामा ट्राफिक सप्ताह कार्यक्रम

रञ्जन यादव
258 पाठक संख्या

ट्राफिक प्रहरीले बाराको जीतपुरबाट ट्राफिक सप्ताह जीतपुरबाट सुरु भएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सुरु गरिएको ट्राफिक सप्ताहको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले उद्घाटन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले ट्राफिक नियमको जानकारी गराउन सप्ताह सुरु गरिएको र सवारी चालक तथा यात्रुले सडक अनुशासन कायम गर्दा दुर्घटना न्यूनीकरण हुने बताए ।

उनले सशस्त्र जनयुद्धमामा जत्ति नै मानिसको दुर्घटनामा मृत्यु भइरहेको स्मरण गर्दै ट्राफिक सप्ताहको अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।

सप्ताहको सुरुगर्नु अघि जीतपुरमा विभिन्न प्लेकार्डसहित र्‍याली निकालिएको थियो। जीतपुर टेढा सडक खण्ड बाट शुरु भएको र्‍याली सम्राट पार्टी प्यालेशमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।

ट्राफिक सप्ताह उद्घाटन कार्यक्रममा बोल्दै बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए।

गाडीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढेको र यसलाई नियन्त्रण गर्न यातायात व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए। ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही नगरी कसैको सोर्समा त्यसै छाड्ने गर्दा थप जोखिम बढ्ने हुँदा त्यस्तो कार्य नगर्न प्रहरीलाई निर्देशन दिए।

बिहीवार आयोजित ट्राफिक सप्ताह उद्घाटन कार्यक्रमका अन्य वक्ताले प्रहरीले थालेको अभियानमा नागरिक क्षेत्रबाट यथेष्ट सहयोग हुनुपर्नेमा जोड दिएका थिए । यस्तै सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधार विकास र विस्तारमा लाग्नसमेत उनीहरुले ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख रामकुमार महतोले सडकको अवस्था,भौगोलिक कारण,सवारीसाधनको अवस्था,ट्राफिक नियमको उल्लंघन,मौसम लगायतका कुरामा ध्यान नदिँदा बढी दुर्घटना हुने गरेको बताए ।

उनले पैदल यात्री जथाभावी बाटो काट्ने,चौपाय छाड्ने जस्ता कुरा थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरिक्षक महतोले बताए ।

यस्तै सप्ताह अन्तर्गत पैदल यात्रीलाई सडक पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने,सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने,पार्किङ एवं सडक पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतना सम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ट्राफिक प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।

असार ६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम असार १२ गते सम्म चल्ने छ ।

Leave a review

This will close in 0 seconds