पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जना सर्लाही प्रहरीद्वारा सार्वजनिक

संदिप प्रसाद यादव
372 पाठक संख्या

पूर्व भूमिसुधार राज्य मन्त्री ८१ वर्षीय रामचन्द्रराय यादवको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सर्लाही प्रहरीले सार्वजनिक गरेको छ ।

गत साउन ७ गते मध्यरातमा चन्द्रपुर गाउँपालिका वडा नम्बर १ रतनपुरमा पूर्व भूमि सुधार राज्य मन्त्री,रा.प्र.प्रा. को पुर्व उपाध्यक्ष तथा हालको केन्द्रिय सदस्य यादवको हत्या भएको थियो । आफ्नै घर फार्म हाउसको सुत्ने कोठामा टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो । सर्लाही प्रहरीले आरोपितलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वार्ड नम्बर ३ घर भई हाल जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ रतनपुर बस्ने मृतक रामचन्द्र रायको घरमा काम गर्ने २५ वर्षीय राम उजैन राय र अन्दाजी ४६ वर्षीय वीरेन्द्र रायलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनास्थलवाट २०/२५ मिटर पश्चिम बाँसको ड्याडमा रगत (रगत जस्तो देखिने रातो पदार्थ) तथा कपाल समेत लागेको अवस्थामा फलामको धारिलो उखु काटने फर्सा फेला परेको थियोे हत्याको समयमा उनले लगाएका सेती सेण्डो गन्जी च्याती ३ तीन टुक्रा पारी बेरी गोलो बल (भकुण्डो) जस्तो बनाई घटनास्थल देखि पश्चिम उत्तरतर्फ रहेको जारी छेउको बाटोतर्फ उनीहरु फालेको थिए ।

उक्त घटनास्थलबाट तत्काल फेला परेको फलामको धारिलो हतियार फर्सा,राम उजैन राय सुतेको तन्नामा रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीको दावी रहेको छ । यस्तै सेतो गन्जी,हाफ पाईन्ट समेतका भौतिक सबुद प्रमाण (चिजवस्तुहरु) को संकलन र सनाखत प्रहरीले गरेको थियो ।

प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठको कमाण्डमा ६ सदस्यीय अनुसन्धान टोलीले थप अनुसन्धान गरेको थियो ।

यादवको हत्याका कारण जग्गा सम्बन्धी मतभिन्नता र आर्थिक प्रलोभन रहेको प्रहरीको दावी रहेको छ । एक महिना अगाडि वीरेन्द्रराय यादवले राम उजैनलाई रामचन्द्र राय यादवको घर जग्गाको नक्सा झुक्याई मागि उक्त नक्साको फोटो भिडियो बनाएको प्रहरीको दावी रहेको छ । वीरेन्द्रराय यादवले राज्यमन्त्री यादवको पक्की घर रहेको जग्गा मेरो हो, मेरो जग्गा ओगटेर घर बनाई बसेको छ भन्ने कुरा भन्ने गरेको थिए ।

वारदात समय भन्दा केही दिन पहिला वीरेन्द्रराय यादवले राम उजैनलाइ २ लाख रुपैया र व्यवसायको लागि एउटा फर्म समेत बनाई दिन्छु तर त्यसको बदलामा तिमीले राम चन्द्र राय यादवलाई खत्तम गरिदेउ त्यसपछि मात्र मेरो जग्गा मैले उपभोग गर्न पाउँछु भनेको हुदाँ बिरेन्द्र राय यादवको उक्साहट र प्रलोभनले गर्दा राम उजैन आफू एक्लैले उक्त घटाएको भनि साविति बयान दिएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds