बाराको जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गैर सरकारी संस्थाले पारदर्शी ढंगले काम गर्नुपर्छ भनेका छन् ।
बाराको कलैयामा आइतबार जनजागरण यूवा क्लवको २६ औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । मधेश सम्बृद्धिको अभियानको नाराका साथ कलैया ५ स्थित दरबार ब्यान्केटको सभा हलमा सो साधारण सभा भएको हो ।
जनजागरण यूवा क्लवले जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न किसिमको कार्यक्रमको माध्यमबाट जनचेतना जगाउँदै सामाजिक काम गरिरहेको भन्दै नगर प्रमुख पौडेलले सन्तुष्टि व्यक्त गरे । सामाजिक रुपान्तरणको लागि गैर सरकारी संस्थाले सशक्त र प्रेरणादायी भूमिका खेल्न आवश्यक रहेको उनले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सामाजिक कामलाई गम्भीरतापूर्वक गर्न आग्रह गरे । उनले समाज परिवर्तन गर्न समाजमा भएको कुरिति विरुद्ध लाग्न आग्रह गरे ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जनजागरण यूवा क्लव एक सशक्त संस्था भएको बताए । आफ्नो पालिकामा यसले गरिरहेको काम सराहनीय रहेको उनले बताए ।
बाराको कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले कसरी सिमान्तिकृतवर्ग र पिछडिएको वर्गलाई माथि उठाउन सकिन्छ,त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले जनजागरण यूवा क्लव जस्ता संस्थाको आवश्यकता सामाजिक रुपान्तरणमा रहेको जनाए ।
कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले शिक्षा क्षेत्रमा क्लवले सराहनीय काम गरेको जनाए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले समाजमा भइरहेको अपराधलाई नियन्त्रण गर्न कटिबद्ध रहेको सुनाए । शिक्षक पवनकुमार यादवले क्लवलाई निरन्तर अगाडी बढन शुभकामना दिए ।
उक्त कार्यक्रममा क्लवका कार्यक्रम निर्देशक डा. श्रीनिवास बैठाले क्लबको प्रत्यक्ष पहुँच चार लाख २० हजार नौ सय छ जनासम्म रहेको जनाए । क्लवले शिक्षा लगायत विभिन्न १० क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए ।
क्लवका सियाराम यादवले वार्षिक बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/२०८१ मा छ करोड आठ लाख ९५ हजार आठ सय ३८ रुपैयाँ खर्च गरेको जनाए । उनले विभिन्न शिर्षकमा छ करोड १९ लाख २८ हजार आठ सय ७५ रुपैयाँ ५८ पैसा आय भएको जानकारी दिए ।
उक्त अवसरमा क्लवका कार्यक्रम प्रवन्धक मनोज यादवलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । सो कार्यक्रममा सावित्री जयसवाल,विशालकुमार लहेरा,उदय,किसमति देवी पासवान,रमिता गुप्ता,फुलकली देवी पासवान,रुखसाना खातुन,शोभा देवी राम,अरुण पटेल,मञ्जु यादव लगायतकाले आफ्नो अनुभव सुनाएका थिए।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष भैयाराम यादवको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी खरेलले गरिन् ।

