रौतहट । इलाका प्रहरी कार्यालय मौलापुरमा लामो समयदेखि घुमुवाका रूपमा कार्यरत प्रहरी जवान दीपककुमार गिरीमाथि व्यवसायी तथा विभिन्न अवैध कारोबारीबाट रकम असुली गरेको आरोप लागेको छ। गिरीसँग जोडिएको भनिएको एक हस्तलिखित कागजात सार्वजनिक भएपछि उनको भूमिकामाथि प्रश्न उठेको हो।
सार्वजनिक भएको कागजातमा प्रहरी जवान गिरीको नाम, प्रहरी कर्मचारी संकेत नम्बर तथा कार्यरत कार्यालय उल्लेख गरिएको छ। त्यसैगरी विभिन्न व्यवसायी तथा व्यक्तिको नामसँगै उनीहरूबाट लिइएको भनिएको रकमसमेत लेखिएको देखिन्छ। कागजातमा २ हजारदेखि १५ हजार रुपैयाँसम्मका विभिन्न रकम उल्लेख छन्।
कागजातमा केही व्यक्तिको नाम, स्थान तथा कारोबारसम्बन्धी विवरण हस्तलिखित रूपमा उल्लेख गरिएकाले त्यसको सत्यता र रकमसम्बन्धी विवरण सम्बन्धित व्यक्तिहरूबाट पुष्टि हुन बाँकी छ।
कागजातमा इलाका प्रहरी कार्यालय मौलापुरको नाम उल्लेख गर्दै प्रहरी जवान गिरीलाई घुमुवाका रूपमा कार्यरत रहेको विवरणसमेत राखिएको देखिन्छ। यसले प्रहरीको घुमुवा परिचालन, उनीहरूको कार्यक्षेत्र तथा गतिविधिमाथि प्रश्न उठाएको छ।
प्रहरीको घुमुवा परिचालनको मुख्य उद्देश्य अपराध नियन्त्रण, सूचना संकलन तथा अवैध गतिविधिमाथि निगरानी गर्नु हो। तर, सार्वजनिक भएको कागजातमा उल्लेखित विवरण सत्य सावित भएमा प्रहरीको जिम्मेवारीलाई व्यक्तिगत असुलीको माध्यम बनाइएको गम्भीर अवस्था देखिन सक्ने जानकारहरू बताउँछन्।
विशेषगरी एउटै व्यक्तिको नाम पटक–पटक उल्लेख हुनु र फरक–फरक रकम देखिनुले उक्त विवरण नियमित असुलीसँग सम्बन्धित हो कि होइन भन्ने प्रश्नसमेत उठेको छ। यद्यपि, कागजातको आधिकारिकता र त्यसमा उल्लेखित रकम कसले, कुन प्रयोजनका लागि लिएको हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ।
यता, प्रहरी जवान दीपककुमार गिरीले आफूविरुद्ध लगाइएको रकम असुलीको आरोप अस्वीकार गरेका छन्। उनले सार्वजनिक भएको कागजातमा उल्लेखित विवरण सत्य नभएको प्रतिक्रिया दिएका छन्।
त्यस्तै, इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत बिष्टले आफू सीमा क्षेत्रमा नरहेको र आफ्नो कार्यक्षेत्रबाट सीमा क्षेत्र करिब आठ–नौ किलोमिटर टाढा रहेको बताएका छन्। प्रहरी निरीक्षक बिष्टले कुनै पनि प्रहरी कर्मचारीले तस्कर वा अवैध कारोबारीसँग रकम लिएको प्रमाणित भए कारबाही गरिने बताए ।


