बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्।
मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्। बालिकालाई तत्काल नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर हेरचाह गरिएको थियो।
पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा सुरक्षा निकायको टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरि सर्च अपरेसन गरिएको थियो। खोजीका क्रममा नेपाल प्रहरीले नेपाली सेना र सशस्त्र प्रहरीको पनि सहयोग लिएको थियो ।


