बारा । बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका–७ मा बस्ने लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे ४५ वर्षीय रुपनारायण साह कानुको घरमा शिवगुरुको पूजा कार्यक्रम हुने तयारी भइरहेको थियो। पूजामा भजन बजाउन स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसिजी परीक्षणपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालमा खटिएका प्रहरीले दिउँसो इलाका प्रहरी कार्यालय छतवामा जानकारी गराएपछि प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।


