देवाही गोनाही नगरपालिकामा विद्यार्थीले गरे तोडफोड,कार्यालयमा भयो व्यापक क्षति

साझेदारी दैनिक
391 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव/ रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ।

देवाहीका मेयर प्रेमलाल साहले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै आक्रोशित विद्यार्थीहरुले मंगलवार तोडफोड गरेका हुन्। गोनाही स्थित रहेको पालिका कार्यालयमा तोडफोड गरी विद्यार्थिले व्यापक क्षति पु-याएका हुन्।

नगर प्रमुख साहले देवाही गोनाही नगरपालिका–९ धरहरि स्थित रहेको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजयप्रसाद गुप्तालाई सोही नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न खोजेको भन्दै विद्यार्थि आक्रोशित भएका हुन्।

उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

सो क्रममा विद्यार्थीहरुले ढुङ्गा प्रहार गरी पालिका कार्यालयको सम्पूर्ण झ्यालको सिसा फुटाइदिएका छन्।विद्यार्थीहरुले ढुङ्गामुढा गरी पालिका कार्यालयका साथै पार्किङ गरी राखिएको डोजर र एम्बुलेन्समा समेत क्षति पु¥याएका छन्।

मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका हुन्। उनीहरुले मेयर साहका विरुद्ध चर्को नाराबाजी गरेका हुन्।

सरुवा रोक्नुपर्ने माग राख्दै सयौंको संख्यामा नगरपालिका अगाडि जम्मा भएका विद्यार्थीहरुले करिव तीन घण्टा लगातार उग्र प्रदर्शन गर्नुका साथै कार्यालय र दुईवटा सवारी साधनमा तोडफोड गरी लाखौंको क्षति पु-याएका हुन्। विद्यार्थीहरुको आन्दोलनका कारण दिनभरी गोनाहीको अवस्था तनावग्रस्त बनेको थियो ।

नगरपालिकामा विद्यार्थीहरुले तोडफोड गरी क्षति पु-याउन थालेपछी प्रधानाध्यापक गुप्तालाई सरुवा गर्ने अडानबाट मेयर साह पछि हटेका छन्।

मेयर साहले प्रअ गुप्तालाई सरुवा नगर्ने भन्दै सूचना प्रकाशन गरेपछी विद्यार्थीहरुले प्रदर्शन स्थगित गरेका छन्।

विद्यालयको शिक्षा सुधारमा उल्लेखनीय योगदान गरेका प्रधानाध्यापक गुप्ता विद्यालयमा आएदेखी नै पढाईको अवस्थामा व्यापक सुधार गरेको विद्यार्थिहरुको भनाई रहेको छ। मेयर साहले रकमी चलखेल गरी गुप्तालाई सरुवा गर्न खोज्दा आफुहरु प्रदर्शन गरी पालिकामा तोडफोड गरेको विद्यार्थीहरुले बताएका छन्।

मेयर साहले राम्रा शिक्षकलाई अन्यत्र सरुवा गरि विद्यालयमा राजनीतिकरण गर्न खोजेको विद्यार्थीहरुको आरोप छ।

गुप्तालाई अन्यत्र सरुवा गरे आफुहरु पुनः आन्दोलनमा उत्रिन बाध्य हुने विद्यार्थिहरुले जनाएका छन्। त्यसबाट हुने घटनाको सम्पूर्ण जिम्मेवारी मेयर साहलाई लिनुपर्ने उनीहरुको चेतावनी छ ।

Leave a review

This will close in 0 seconds