रौतहटको राजपुरमा फैलिएको हैजा आयो नियन्त्रणमा,निषेधित क्षेत्र हटाइने

साझेदारी दैनिक
333 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव/ रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर ४ मा फैलिएको हैजा नियन्त्रणमा आएको छ।

यहाँ हैजा डायरियाको प्रकोप नियन्त्रणमा आइसकेको राजपुर नगरपालिकाका मेयर डाक्टर राजीक आलमले जानकारी दिएका छन्। प्रहरी प्रशासन,डाक्टर तथा स्वास्थ्यकर्मीको अथक प्रयासबाट हैजा नियन्त्रणमा आएको हो।

हैजाबाट प्रभावित ६२ जना भन्दा बढी बिरामी क्रमशः निको हुँदै घर फर्किसकेको र अब एक जना संक्रमित मात्र उपचाररत रहेको उनले बताए। हैजा नियन्त्रणमा आइसकेको मेयर आलमले बताए ।

स्थानीय प्रशासनले हैजा प्रभावित क्षेत्रलाई निषेधित क्षेत्र घोष्णा गरेको थियो। यहाँ आवत जावतमा गरेको कडाई र डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अहोरात्र खटेर गरेको औषधी उपचारका कारण हैजा फैलिएको एकसाता भित्रमै नियन्त्रणमा आइसकेको उनले बताए ।

केहि दिन अघि मात्रै राजपुर नगरपालिका–४ मा एक जना बिरामीबाट सुरु भएको हैजा ६२ जना भन्दा बढी महिला,पुरुष र बालबालिकामा लागेको थियो। उक्त महामारीबाट ६२ जना भन्दा बढी व्यक्ति संक्रमीत भएका थिए। बिहीवार बेलुकासम्म संक्रमितको संख्या घटेर एकजनामा पुगेको छ।

प्रहरी प्रशासनको सक्रियता र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु परेन । हैजा संक्रमीत सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको थियो।

राजपुर नगरपालिकाले सम्पूर्ण बिरामीहरुलाई निशुल्क उपचार गरेको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताए । हैजा अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले असोज ६ गते एक सूचना जारी गर्दै वडा नम्बर ४ लाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

असोज २ गते देखि हैजा डायरियाको प्रकोप दिन प्रति दिन बढ्दै गएकोले संक्रमण नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सो वड़ालाई शील गरेको थियो ।महामारी रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले वड़ा नम्बर ४ जोबैर चोक देखि मदनी चोक,शेख अब्दुल्लाहको खलिहान देखि डाक्टर नुरुल होदाको घर सम्म वरिपरीको क्षेत्रलाई असोज ६ गते देखि अर्को आदेश नआएसम्मको लागि शील गरिएको छ ।

अत्यावश्यक बाहेक सवारीसाधनमा रोक लगाउनुका साथै उक्त क्षेत्रमा माछा मासु ओसारपसार र बिक्री वितरण गर्न समेत निषेध गरिएको छ । हैजा नियन्त्रणमा आउन थालेपछि स्थानीय प्रशासनले वडा नं. ४ लाई घोष्णा गरेको निषेधित क्षेत्र हटाउने तयारी गरेको छ ।

हैजाबाट संक्रमित विरामी उपचार गराइ निको भएर आ–आफना घर फर्किसकेको र अब एक जना मात्र संक्रमित उपचाररत रहेकोमा उनी डिस्चार्ज हुने वित्तिकै निषेधित क्षेत्र हटाउने रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले साझेदारी दैनिकलाई जानकारी दिए।

हैजाका नयाँ बिरामी फेला पर्ने क्रम रोकिएको र संक्रमीत एक जना बिरामीको उपचार समेत अन्तिम चरणमा रहेकोले सम्भवत असोज ११ गते शुक्रवार नै निषेधित क्षेत्र हटाउने एसपी घिमिरेले बताए ।

Leave a review

This will close in 0 seconds