माधोपुरका तीन सय घरधुरीलाई मेयर बैजनाथ प्रसाद यादवले बाँडे राहत

साझेदारी दैनिक
264 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा तीन सय घरधुरीलाई शुक्रबार राहत सामग्री वितरण गरिएको छ।

माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले माधोपुरका बाढी पीडितहरुलाई एक कार्यक्रमवीच राहत सामग्री वितरण गरेका हुन्।

तीन सय घर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको नगर प्रमुख यादवले जानकारी दिए।

राहत वितरणका लागि माधोपुरमा करिव छ सय घर परिवार छनौट भएका थिए। जसमा पहिलो दिन तीन सय परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

बाँकी तीन सय घर परिवारलाई भोलि शनिवार राहत उपलब्ध गराइने मेयर यादवले साझेदारी दैनिकलाई बताए।

प्रति परिवार २५ किलो चामल,दुई दुई किलो तेल, दाल, नुन,चीनी, स्वाबिन,चिउरा लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो।

सामाजिक क्षेत्रमा काम गर्ने चोआइस नेपाल नामक संस्थाको आर्थिक सहयोगमा सो सामाग्री राहत वितरण गरिएको हो।

लगातारको वर्षाका कारण गत असोज १२ गते बागमती नदीमा आएको भीषण बाढीले माधोपुरका ६ सय घर परिवार प्रभावित भएका छन्।

बाढी प्रभावित नागरिकहरुलाई तत्कालका लागि केही सहयोग हुने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो।

राहत सामग्री पाएपछि पीडितहरु निकै हर्षित भएका छन्। माधव नारायण नगरपालिकाको कार्यालय परिसरमा राहत वितरण गरिएको हो। सो कार्यक्रममा माधोपुरका वडा अध्यक्ष रामनरेश राय यादव लगायतका व्यक्तिको विशेष उपस्थिति रहेको थियो।

दुःख र विपद् परेको बेला विभिन्न दातृ निकायको सहयोग लिएर भएपनि आफूहरुलाई राहत उपलब्ध गराई दुःखमा साथ दिएको भनि बाढी प्रभावित नागरिकहरुले सहयोगी संस्था र नगर प्रमुख यादवलाई धन्यवाद ज्ञापन गरेका छन् ।

बाढीले माधवनारायण नगरपालिकाका चार वटा वडा नराम्ररी प्रभावित भएको थियो।

यस अघि मेयर यादवले बाढीबाट प्रभावित माधव नारायण नगरपालिकाका वडा नं ७ लौकाहा फुलवरिया, ८ खडकी रजवडा र ९ गढोका गरी १५ सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिसकेका छन् ।

यी तीनवटा वडामा आरडीसी नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा राहत वितरण गरिएको छ।

मेयर यादवले पालिका र अन्य संघ संस्थाको सहयोगमा पीडितहरुलाई अन्य सहयोग उपलब्ध गराउन प्रयासरत रहेका छन् ।

Leave a review