मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान दुर्घटनामा परेको स्कार्पियोमा सवार ४९ वर्षीया लक्ष्मी बडुको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो। लक्ष्मी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भई सडकबाट तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार बडु, उनका छोरा रितेन्द्र, छोरी रिता तथा चालक छुनिलाल चौधरी घाइते भएका थिए।
दुर्घटनापछि बडु परिवारका सदस्यलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। छाउनी अस्पतालमा बिहान करिब सवा १० बजे पुर्याइएकी लक्ष्मीलाई चिकित्सकले करिब साढे १० बजे मृत घोषणा गरेका थिए।
मुख्य न्यायाधीश डाँगी र जिप चालक चौधरीको उपचार भने मकवानपुरमै भइरहेको प्रहरीले जनाएको छ।


