स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमा पत्राचार

साझेदारी दैनिक
263 पाठक संख्या

काठमाण्डौं : निर्वाचन आयोगको सोमबार बसेको बैठकले यही मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तह उपनिर्वाचनको उपयुक्त एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम निर्वाचन आयुक्त सगुन समशेर ज.ब.रा.ज्यूको संयोजकत्वमा गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठक समेत बसेको हो।

सो बैठकबाट निर्वाचन सुरक्षा स्थितिको आँकलन,निर्वाचन सुरक्षा योजनाको समिक्षा,कार्यान्वयन तथा समन्वय एवम् सुरक्षा व्यवस्था सम्बन्धी मार्गदर्शनको लागि भएको निर्णय तथा सिफारिस समेतको आधारमा पत्राचार गर्ने निर्णय भएको आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकी हुन्।

स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न बमोजिम सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको उनले विज्ञप्तिमा जनाएकी हुन्।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकार,गृह मन्त्रालयबाट आयोगमा पेश हुन आएको आवश्यक सुरक्षा प्रबन्ध सहितको उपनिर्वाचन सुरक्षा योजनाको कार्यन्वयन गरी उपनिर्वाचन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भनिएको छ।

उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमा हुने उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उक्त दिन उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानीय तहमा निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को व्यवस्था कार्यन्वयन गर्न मातहातका सबै निकायहरूको परिचालन गर्ने निर्णय समेत भएको छ।

मतदानको दिन मतदान कार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्र सहितका मतपेटिकाहरू सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय मार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने आयोगले जनाएको हो।

प्रचार प्रसार निषेध अवधि मिति मंसिर १३ गते राती १२ः०० बजेदेखि लागु हुने छ। उपनिर्वाचन प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने उपनिर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिन कहीं कतै भए गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गरी जानकारी गराउन समेत आयोगले भनेको छ।

मंसिर ०५ देखि मिति१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन समेत आयोगले गृहमन्त्रालयमा भनेको छ।

उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानीय तहमा उपनिर्वाचनको दिन मिति सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने साथै निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताहरूको सहज आवागमनको लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रवन्ध गर्न समेत आयोगले पत्राचार गर्ने निर्णय गरेको हो।

Leave a review

This will close in 0 seconds