कलैया : बारामा सरस्वती पुजा अर्थात श्रीपञ्चमी पर्व सोमबार धुमधामका साथ मनाईएको छ ।
जिल्लाको १६ वटै पालिकामा रहेको सामुदायिक तथा संस्थागत बिद्यालयमा श्रीपञ्चमी पर्व धुमधामका साथ मनाईएको हो । माता सरस्वती पूजाको अवसरमा जिल्लाका बिद्यालयहरुमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
गाउँ गाउँमा बिद्यार्थीहरुले सरस्वती पूजा गरेका छन । चन्द्रमाजस्तो गोरो वर्ण भएकी,हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको भारती,शारदा,हंसवाहिनी,जगन्माता,वागीश्वरी, कौमारी,वरदायिनी,बुद्धिदात्री,ब्रह्मचारिणी,चन्द्रघण्टा र भुवनेश्वरीजस्ता थुप्रै नाम छन् ।
देवी सरस्वतीलाई विद्या र सिर्जनाकी देवीको रुप मानिने भएकाले आज विशेष गरी शिक्षक,विद्यार्थी,पत्रकार,साहित्यकार,कलाकारहरुले आआफ्ना कला–साधनाका वस्तुहरु कलम,कापी,कुची र वाद्ययन्त्रलाई देवी सरस्वतीको रुपमा पूजा गर्दर्छन् ।आजबाट वसन्त ऋतुको शुरुवात हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो ।
आजको दिनमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।आज विवाह,व्रतबन्ध,गुफा राख्ने र बेलविवाह जस्ता कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन साना नानीहरुलाई शिक्षारम्भ गराइन्छ भने नाक–कान छेड्नका लागि पनि आजको दिन शुभ मानिन्छ ।

