सुवर्णमा चोरीको आतंक : एकै घरबाट २० तोला सुनका गरगहना चोरी

साझेदारी डेलि
82 पाठक संख्या

बारा । बाराको सुवर्ण गाउँपालिकामा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। सुवर्ण गाउँपालिका–१ चरमोहना गाउँमा स्थानीय रामनरेश सिंहको घरबाट गएराती करिब २० तोला सुनका गरगहना चोरी भएको छ।

त्यस्तै केहि दिनअघि सुवर्ण गाउँपालिका–३ पचगछियामा अज्ञात चोरहरूको समूहले तीनवटा घरको पर्खाल फोडेर लाखौँ मूल्य बराबरको चोरी गरेको थियो ।

स्थानीयका अनुसार महेन्द्र प्रसाद यादव, अनुठा महतो र तपसी प्रसाद यादवको घरमा चोरी भएको थियो । चोरी भएका घरमध्ये एक घरबाट मात्रै करिब दुई लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना र नगद चोरी भएको बताइएको छ।

यसअघि सुवर्ण गाउँपालिका–४ हर्दिया, वडा नम्बर १ चरमोहना र वडा नम्बर ३ घोठ गाउँमा समेत चोरीका घटना भएका थिए। घोठ गाउँमा तीनवटा घरबाट करिब पाँच लाख रुपैयाँ बराबरको गरगहना तथा नगद चोरी भएको थियो।

लगातार चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। स्थानीय युवा इन्जिनियर सुनिल कुमार यादवले चोरी नियन्त्रण गर्न सीसीटीभी क्यामेरा जडान, सडक बत्तीको व्यवस्था तथा प्रहरी गस्ती बढाउन माग गरेका थिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्। चोरी भएका धनमालको यकिन विवरण अनुसन्धानपछि खुल्ने उनले बताए।

Leave a review