कलैया : देवताल गाउँपालिकाका उपाध्यक्ष सितापति देवी यादवले महिलाहरुको पाठेघरमा लाग्ने रोगको समस्या विकराल रहेका बताएकी छन्।
बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा शनिबार उनले यस्तो बताएकी हुन्। महिलाहरुको लागि पाठेघर सम्बन्धि जनचेतनामूलक तालिमको समापन कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन्।
व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कलैया बाराको आयोजना तथा देवताल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पिप्राढीगोठ बाराको सहयोगमा सो तालिम भएको हो।
लाज मानेर शरीरमा भएको रोगको बारेमा परिवारमा नभन्दा यस्तो स्वास्थ्य सम्बन्धी समस्या रहेको उनले बताएकी हुन्। नेपालका सामाजिक संरचनाका कारण आफू भित्र रहेको रोगको बारेमा बताउन महिला लजाउने हुनाले पाठेघर र स्तनको क्यान्सर हुने गरेको उनको भनाई थियो।
रोग सकेसम्म उनीहरु कसैलाई नभन्ने नबताउने रोगलाई पालेर राख्ने गरेको कारण यस्ता रोगहरु विकराल बन्दै गएको उनको तर्क थियो। विशेष गरि महिलाहरुमा आँग खस्ने रोग हाम्रो देशमा देखिएको र यो रोगको समयमै उपचार गराउन सकिएन भने यसले क्यान्सर जस्ता प्राणघातक रोग निम्त्याउन सक्ने उनले बताइन्।
महिलाहरुको लागि तीन दिने पाठेघर सम्बन्धि जनचेतनामूकल कार्यक्रमको देवताल गाउँपालिका वडा नम्बर १ मा आयोजना गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र संस्थाका अध्यक्ष संजय साहले बताए ।
महिलाहरुमा पाठेघर सम्बनिध जनचेतनामूलक तालिम तीन दिन ६ चरणमा चलेको हो। त्यसमा तीन सय भन्दा बढी सहभागीहरुले भाग लिएको संयोजक संस्थाका अध्यक्ष साहले जानकारी दिए।
तालिमको प्रशिक्षण बविता चौधरी र प्रिति ओझाले दिएका थिए। कार्यक्रममा देवताल गाउँपालिकाका इन्जिनियर औलिक महम्मद दर्जी,सामाजिक विकास शाखा प्रम्ख ललन पटेल,१ नम्बर वडाका वडा सदस्य सम्भा देवी,प्रमिला मण्डल,जवाहिर अंसारी,जिन्सी शाखा प्रमुख प्रविण यादव,सशस्त्र प्रहरीका असई धनलाल तमाङ्ग लगायतको सहभागिता रहेको थियो।


