स्ट्रिट फुड ब्यवसायीलाई खाना स्वच्छतासम्बन्धी जानकारी

रञ्जन यादव
443 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगर क्षेत्रका सडक खाद्य बस्तु (स्ट्रिट फुड) ब्यवसायीलाई पथलैयामा खाना स्वच्छता सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साको आयोजना र होटल तथा पर्यटन ब्यवसायी संघ बाराको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । स्ट्रिट फुडहरु पस्कने र तयार पार्ने स्वच्छ विधिलाई अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सुशिल कुमार सिँहले जानकारी दिनुभयो ।

सडकमा मानिसहरुको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवसायीलाई प्रोत्साहन गरिएको थियो । कच्चा पदार्थ किन्दादेखि ग्राहकलाई पस्कदासम्म हानिकारक तत्वहरु खानेकुरामा आउन सक्ने भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्‍नेबारे कार्यक्रममा सिकाइएको होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो ।

सफा पानीको प्रयोग,खाना कसरी भण्डार गर्ने,झिङ्गाबाट कसरी जोगाउने,तापकम व्यवस्थापन,दैनिक सरसफाईलाई मुख्य विषयवस्तुमा अन्तरक्रिया पनि गरिएको थियो । प्रिन्टिङ पेपरमा खानेकुरा खाँदा क्यान्सरको जोखिम हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सिँहले जानकारी दिनुभयो ।

न्युज पेपरहरुमा चटपटे,पानीपुरी लगायतको प्याक गरेर खाने चलन छ। त्यसलाई तुरुन्तै हटाउनुपर्ने आवश्यक्ता औल्याउँनुभयो । मालपुवा,सेलरोटी र समोसाहरु पनि प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सिँहले प्रिन्टिङ्ग पेपरमा खानेकुरा दिनुभन्दा रुखको पत्ताहरुको प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा करिब ५० जना स्ट्रीट ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फूडहरुको प्रयोग गर्ने चलन छ । खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds