बारा : मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बाराको सिम्रौनगढ नगरपालिका–४ मा निर्माण भइरहेको गंगानगर–बमनहरदेखि नयकाटोला जाने नहरको ढलान कार्यमा गम्भीर लापरवाही देखिएको छ।
कागजमा मात्र उपभोक्ता समिति बनाई निर्माण कार्य अघि बढाइएको र वास्तविक रूपमा ठेकेदार राजकिशोर कुशवाहाले काम गरिरहेको खुलासा भएको छ।
स्थानीय स्रोतका अनुसार साइट इन्जिनियर राजेश साह र ठेकेदार कुशवाहाबीचको आर्थिक साँठगाँठले गर्दा निर्माण कार्य लागत ईष्टिमेटभन्दा बाहिर गइरहेको छ भने गुणस्तर समेत कमजोर देखिएको छ। उक्त योजना बिना सार्वजनिक सूचनाको बोर्ड निर्माण कार्य भैइरहेको पाइएको हो ।
स्थानीय महराज यादवका अनुसार ढलान कार्यमा ग्रेभलको मात्रा घटाइएको छ,जसले समग्र कामको गुणस्तरमा प्रश्न उठाएको छ। “साइट इन्जिनियर साहले काम रोक्ने कुनै प्रयास नगरेको देख्दा उनकै संलग्नता देखिन्छ,” यादवले आरोप लगाए।
आइतबार पूर्वाधार विकास कार्यालय बाराका साइट इन्जिनियर राजेश साहले पनि आफ्नो कमजोरी स्वीकार गरेका छन्। “ढलान सुरु भएको दिन नै मलाई थाहा भयो कि २ फिट सडक बायाँबाट दायाँ सार्नुपर्ने थियो,तर ग्रेभल सारिएको थिएन,” उनले भने, “मैले पटक–पटक भने पनि ठेकेदारले कुरा नसुनेझैँ गरे।”
इन्जिनियर साहले ढलान प्रक्रियामा ग्रेभल र सिमेन्टको रेसियोमा बिग्रिएको र निर्माणमा मापदण्ड पुरा नभएको समेत स्वीकार गरेका छन्।
४५ लाख रुपैयाँ लागतको उक्त योजना पूर्वमुख्यमन्त्री सरोज यादवको सिफारिसमा सञ्चालनमा आएको हो।
योजनाको नाममा बनाइएको उपभोक्ता समिति कागजमै सीमित रहेको र ठेकेदारमार्फत भइरहेको स्थानीयले बताएका छन्।

