रौतहट : रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकाको राङ्गीमा विधुतीय ट्रान्सफर्मर चोरी भएको छ। जसले गर्दा स्थानीयहरु स्वच्छ खानेपानीबाट बञ्चित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका–११ राङ्गी गाउँ स्थित ५० किभीको विद्युतिय ट्रान्सफर्मर बुधबार राति चोरी भएको हो। यो संगै सयौं घरपरिवारले उपभोग गर्दै आएका स्वच्छ खानेपानीबाट बञ्चित भएका हुन् ।
खानेपानी ट्याँकीमा पानी भण्डारण गर्न विधुतीय मद्दतको प्रयोग गर्ने गरिएको थियो। चोर समूहका कारण त्यहाँका सयौं घरपरिवार अहिले स्वच्छ खानेपानीको अभाव झेल्न बाध्य भएका छन्।
अज्ञात समूहले ट्रान्सफर्मरको लाइन काटी त्यसलाई तल झारेर ट्रान्सफर्मर तोडफोड गरेका छन्। उनीहरुले बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् ।
ट्रान्सफर्मर आयोजना स्थल गाउँ बाहिर भएको कारण चोरीबारे स्थानीयले ढिलो गरी जानकारी पाएको र गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा ठप्प भएपछि करिव एक सय भन्दा बढी परिवारलाई गर्मीको मौसममा खानेपानीको ठूलो सास्ती झेल्नु परेको स्थानीय हरी कोइरालाले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव नेतृत्वको टोलीले घटनास्थलमा पुगि अनुसन्धान अघि बढाएका छन्। दोषीलाई पत्ता लगाउन प्रयास जारी रहेको यादवले बताएका छन्।
राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विधुतीय ट्रान्सफर्मर केही वर्ष अघि चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साहले घटनाको गहन अनुसन्धान गरेका थिए। उनले चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेका थिए।
पक्राउ परेका सबैजना आरोपीहरु पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्।

