जीतपुर । ग्लोबल आइएमई बैंक लिमिटेडको जीतपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाराको बकुलियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ३५ जना विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा मेहनती विद्यार्थीलाई लक्षित गर्दै ट्र्याकसुट हस्तान्तरण गरेका हुन्। यस किसिमको सहयोगले विद्यार्थीलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्नुका साथै अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल वृद्धि हुने बताए। उनका अनुसार कतिपय विद्यार्थी आवश्यक पोसाकको अभावका कारण विद्यालय आउन हिच्किचाउने अवस्था रहने भएकाले ट्र्याकसुट वितरणले त्यस्तो समस्या केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गौतमले निजी क्षेत्र र वित्तीय संस्थाबाट शिक्षा क्षेत्रमा हुने सहयोगले सामुदायिक विद्यालयका विद्यार्थीलाई थप हौसला मिल्ने उल्लेख गरे। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले स्थानीय तह र समुदायसँग समन्वय गरी विद्यालय लक्षित सहयोगका गतिविधि अघि बढाइरहेको जनाएको छ।


