साना किसान सहकारीद्वारा अपाङ्गता भएका दुई जनालाई राहत सहयोग

रञ्जन यादव
66 पाठक संख्या

सिमरा । सिमरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ११ औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रममार्फत मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले अपाङ्गता भएका दुई जनालाई आर्थिक सहयोग प्रदान गरेको हो।

संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा पथलैयाकी अञ्जली फुएल र सिमराका नसिब हुसैनलाई जनही ५ हजार १ सय रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा संस्थाकी कार्यबाहक अध्यक्ष श्यामा शर्माले सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा लेखा समिति संयोजक किशोर शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

संस्थाकी सचिव मीरा पुरीले स्वागत मन्तव्य राखेकी थिइन् भने सहजकर्ता कुलोत्तम पोख्रेलले सहकारीको स्थापना, ११ वर्षको यात्रा, उपलब्धि तथा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए।

स्थापना दिवसको अवसरमा ‘११औँ स्थापना दिवस’ लेखिएको केक काटेर वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रममा सहभागीहरूले सहकारीले समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सदस्यहित र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

Leave a review

This will close in 0 seconds