वीरगञ्ज : पर्सा प्रहरीले सीमा नाकामा अवान्छित कृयाकलाप गरेको आरोपमा बुधबार १६ जना यूवालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
पर्साको मुख्य सीमा नाकाहरूमा सुरक्षा निकायहरूबाट कडा रूपमा जाँच हुदै आएको छ। मुख्य नाका भन्दा भित्री सीमा नाकाहरूमा अवैध क्रियाकलापहरू बढेको जनगुनासो तथा सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.२ जानकीटोल चोक स्थितमा लागु औषध सेवन गर्ने व्यक्तिहरू सीमानाकाको बाटो प्रवेश गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको हो। विभिन्न किसिमका लागु औषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्स लगायतसेवनगरी नेपाल प्रवेश पश्चात हो–हल्ला, झै–झगडा तथा सवारी दुर्घटना, विभिन्न अपराधिक गतिविधिहरूमा संलग्न हुने क्रियाकलाप दिन प्रति दिन बढ्दै गरेको थियो। यस सन्दर्भमा विशेष अभियान नै सञ्चालन गरी जिल्ला तथा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइ जाँच गरेको हो।
उनीहरुले राष्ट्र सेवक प्रहरी कर्मचारीसंग नै अभद्र व्यवहार गरेकोले सार्वजनिक शान्ति विरुद्ध अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन–१० ( दश) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको लम्सालले जनाएका हुन्। प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ का २५ वर्षीय सुजित पटेल, सिरहा धनगढीमाई नगरपालिका वडा नं.१० बस्ने २८ वर्षीय दिनेशकुमार श्रेष्ठ, वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने ३० वर्षीय राहुल यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
वीरगञ्ज २३ का २७ वर्षीय श्यामसुन्दर यादव, सोही ठाउँका २४ वर्षीय ऐ.जे.दास, वीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने २५ वर्षीय फिरोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो। वीरगञ्ज २१ का २३ वर्षीय देवनारायण राम, धनुषाको छिरेश्वर नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ को जितेन्द्र कुमार यादव, पर्साको वीरगञ्ज महानगरपालिका वडा न.१३ बस्ने वर्ष २६ को सुमित कुशवाहा,पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष २७ को नितेश मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष २९ को दिनानाथ पटेल, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने वर्ष २८ को मनुप अछामी, वर्ष २६ को टलकबहादुर के.सी., पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष २५ को दिपेन्द्र पासवान, ठोरी गाउँपालिका वडा नं.४ बस्ने वर्ष २७ रोहन बुढाथोकी, धोबिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष २९ को रिजवान हवारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।


