अनुदान रकम उपलव्ध गराउनुपर्ने उँखु उत्पादन किसान संघ बाराको माग

राजेश कुशवाहा
273 पाठक संख्या

कलैया : नेपाल सरकारले उँखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान रकम उपलब्ध गराउनु पर्ने माग गर्दै उँखु उत्पादन किसान संघ बाराले आईतबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ।

उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाको अगुवाईमा गएको किसानहरुको एक टोलीले बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईलाई ज्ञापन पत्र बुझाएका हुन्।टोलीमा संघका मुकेश कुशवाहा, राकेश कुशवाहा, मुकेश यादव लगायतका रहेका छन्।

ज्ञापनपत्रको बोदार्थ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौमा पठाईएको छ । सरकारले दिने अनुदान प्रति क्विन्टल रु ७०का दरले हुने करिब एक अर्ब ६० करोड भुक्तानी हुन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। किसानको जायज माँग सम्बोधन गर्न सरकारसंग संघले अनुरोध गरेको छ।

माग पुरा नभए संर्घषका कार्यक्रमहरु गर्ने संघले चेतावनी दिएको छ। संघले अगामी साउन २० गते जिल्लास्थित चिनी मिलको मूल गेटमा दिउँसो तीन बजे टायर बाली प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। २०८२ श्रावण महिना भरी मांग पुरा नभएमा भाद्र ८ गते देखि काठमाण्डौंस्थित माईतीघर मण्डलामा धर्ना विरोध कार्यक्रम गर्ने लगायतका संर्घषका कार्यक्रम तय गरेको हो।

नेपाल उँखु उत्पादन महासंघको २०८२ साल श्रावण १२ गते उँखु उत्पादन संघ सर्लाही हरिवनको सभाकक्षमा बसेको बैठकले संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको हो। ज्ञापनपत्रमा आर्थिक वर्ष २०८२/०८३ को उँखुको मूल्य तय गर्न उँखुका किसानका प्रतिनिधिहरु,चिनी उद्योगीहरु र नेपाल सरकारको प्रतिनिधिहरुको बिचमा वार्ता गराएर मात्र उँखुको मूल्य निर्धारण गर्न अनुरोध गरिएको छ। सरकारले बजेटको अभाव देखाएर उँखुको अनुदान रकम दिन नसकिने न्यायसंगत नरहेको संघको भनाई रहेको छ।

चिनी र छुवाको बिक्री बाट सरकारले भ्याट बापत रु ३ अर्ब भन्दा बढी राजस्व प्राप्त गर्दछ। नेपालमा भएका १२ –१३ चिनी मिल उद्योगहरुले आर्थिक वर्ष २०८१/०८२ मा २ करोड १६ लाख क्विन्टल उँखु क्रसिङ्ग गरेका छन्। एक लाख ८१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन्। उँखु खेती गर्दा प्रति विगाहा दुई लाख रुपैयाँ भन्दा बढी लागत लाग्ने गर्दछ। एक लाख किसान परिवार उँखु खेतीमा आश्रित रहेका छन ।

उँखुको उचित मूल्य नपाउदा आज भन्दा १५ बर्ष अगाडी उँखु किसानहरुले गरेको सडक आन्दोलन बाट सरकारले चिनीको बिक्रीमा लाग्ने भ्याट वापतको रकमको ९० प्रतिशत अनुदान उपलव्ध गराउदै आईरहेको थियो। यही अनुदानको रकम बाट प्रोत्साहित भएर किसान उँखु खेती तर्फ आकर्षित भएका हुन्। हाल सरकारले आफै उँखुको मुल्य तोक्ने र अनुदान बाट प्रति क्विन्टल रु ७० अनुदानको ब्यवस्था गरेको थियो।

आर्थिक बर्ष २०८१/२०८२ को उँखु प्रतिक्विन्टल मुल्य चिनी उद्योगले दिने र सरकारले दिने अनुदान रु ७० समेत गरी प्रतिक्विन्टल रु ६५५ तोकेको थियो । चिनी उद्योगले दिने प्रतिक्वीन्टल रु ५८५ किसानहरुलाई भुक्तानी दिई सकेको छ। तर सरकारले दिने अनुदान रकम उपलव्ध नगराएपछि उँखु उत्पादक किसान आक्रोसित बनेका हुन्।

Leave a review