जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को दलित बस्ती निर्माणाधीन भवन यतिखर विवादीत बनेको छ । विवादका कारण घरनिर्माण कार्य अनिर्णय बनेको छ ।
मधेस प्रदेश सरकारको मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दलितहरुको घर निर्माण भईरहेको हो । तर सिमा विवादले गर्दा अहिले घरनिर्माण कार्य विवादीत बनेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वडा नम्बर १६ ले भवन निर्माण गरेको भन्दै निर्माण कार्य रोक्न विभिन्न निकायहरुलाई पत्रचार गरेपछि निर्माण कार्य विवादीत बनेको छ । मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत वडा नम्बर १६ ले बालगंगा खोलाको किनारमा १३ वटा घर बिपन्न तथा दलितको लागि भनेर निर्माणाधीन रहेका छन्।
वडा नम्बर १५ का वडा अध्यक्षले खोलाको धार परिवर्तन भएर आफ्नो वडाको सिमा भएर खोला बग्ने गरेको र निर्माण भईरहेको उक्त भवनहरु आफ्नो क्षेत्रमा परेको हुदा निर्माण कार्य रोक्न पुर्वाधार कार्यालय र जिल्ला प्रशासन कार्यालय बारालाई पत्रचार गरेका थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र पुर्वाधार कार्यालका प्रतिनिधहरुले अनुगमन गर्न आएको टोलीलाइ स्थानीय दलितहरुले विवाद गरेपछि सिमा नापचाँज नै नगरी टोली फिर्ता भयो । अनुगमन गरेको एकसाता भन्दा बढि भएपनि अनुगमन टोलीको यो विषयको प्रतिवेदन अझै बुझाएको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले भने हिलो र पानीका कारण नाप गर्न नसकिएको बताए । उनले कानुनअनुसार खोलाको किनारमा घर निर्माण गर्न नमिल्ने बताए । उनले घर निर्माणमा राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरे।
प्रदेश सरकारको बजेट भएका कारण रोक्न नसक्ने दाबी गर्दै, यस विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जान उपयुक्त हुने बताए। वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछानेका अनुसार साबिक डुमरवाना फतेपुर गाविस–१(ख) अन्तर्गत सट्टाभर्ना कित्ता नं. ६२ मा पर्ने उक्त नदी किनारको जग्गामा अनुमति नलिई घर निर्माण भइरहेको बताएका छन ।
तर यता वडा नं.१६ ले निर्माण भईरहेको घर जग्गा आफनो वडा भित्र पर्ने वडा अध्यक्ष हरिदेव खरेलले दाबी गर्दै आएका छन । घर निर्माणधीन स्थलमा अनुगमन टोली बोलाउँदा गएका वडा अध्यक्ष लामिछानेमाथि प्रहरीको सामु घर निर्माण रोक्न खोजेको भन्दै केहि ब्यक्तिहरु जाईलाग्ने प्रयास गरेका थिए ।
कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयले जीतपुरसिमरामा तीन दर्जन घर निर्माण गरिरहेकोमा तीमध्ये १३ वटा वडा नम्बर १६ को बालगंगा खोलाको किनारमा निर्माणाधीन भईरहेको छ । यसबारेमा पूर्वाधार विकास कार्यालय कलैयाकी निमित्त प्रमुख रिम्पु यादवले मदन भण्डारी आवास कार्यक्रम बारा जिल्लाका संयोजक प्रदेश सभा सदस्य त्रिलोकी चौधरीको सिफारिसमा त्यस ठाउँमा घर निर्माणको थालनी भएको जानकारी दिईन् ।
जोखिम युक्त ठाउँ भएपनि संयोजक चौधरीको सिफारिसमा त्यो ठाउँमा घर निर्माण भईरहेको उनले बताईन् । घर निर्माण गर्ने कार्यबिधि भएपनि संयोजकको निर्णयमा घर बनिरहेको जानकारी उनले बताईन ।

