माओवादी केन्द्रद्वारा वडाअध्यक्ष कुशवाहा छ महिनाका लागि निलम्बित

साझेदारी दैनिक
498 पाठक संख्या

कलैया : विवादमा रहेका बाराको प्रसौनी गाउँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी सदस्यबाट निलम्बन गरेको छ।

नेकपा माओवादी मधेश प्रदेश ईञ्चार्ज मातृका यादवले छ महिनाको लागि कुशवाहालाई साधारण सदस्यबाट निलम्बन गरेको पत्रमार्फत जनाएका हुन्। प्रदेशले बारा जिल्ला इन्चार्ज र बारा जिल्ला समन्वय समिति नेकपा (माओवादी केन्द्र) लाई एक पत्र पठाउँदै निलम्वन सम्बन्धमा जानकारी दिएको हो।

पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउपालिका वडा ६ को वडा अध्यक्ष बृजकिशोर कुशवाहालाइ कार्यवाहीको लागि भदौ ६ गते प्रसौनी गाउपालिका समितिबाट आएको पत्र तथा ७ गते जिल्ला इन्चार्जको सिफारिश अनुसार निलम्बन गरिएको जनाइएको हो।

बिगतमा बिभिन्न अराजक गतिविधि गरेको तथा पार्टी अनुशासन उल्लंघन गर्दै आएको हुदा कुशवाहालाई ६ महिनाको लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरि कार्यवाही गरिएको व्यहोरा जानकारी सहित कार्यान्वयनको लागि निर्देशन गर्दछौ पत्रमा लेखिएको छ।

प्रहरीले कुशवाहालाई कुटपिट, अमानवीय व्यवहार, अपहरण तथा शरीर बन्धक ज्यान मार्ने उधोग मुद्दामा भदौ दुई गते पक्राउ गरेको थियो । साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवले फोटोकपी पसलमा फोटोकपी गराउदै गर्दा एक घटना भएको थियो।

यादवलाई लछारपछार गर्दै आफ्नो वडा कार्यालयमा लगेर करिब सात जनाको समूहले कोठा भित्र बाँधी थुनी पछाडिबाट सादा कागजमा सही गराएका थिए। लुगा खोली नाङ्गो बनाइ घरेलु मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई कुटपिट, अमानवीय व्यवहार, अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट पहिलो चार,दोस्रो चार र भदौ ९ गते सोमबार तेस्रो पटक पाँच दिनको म्याद थप गराइएको छ ।

यता यसअघि वडाअध्यक्ष कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र अपराधिक लाभ सम्बन्धी तीन वटा फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरिसकेको छ। अदालतले चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ, कुटपिटमा २ हजार रुपैयाँ र अपराधिक लाभमा १ हजार रुपैयाँ जरिवाना गरिसकेको छ ।

Leave a review

This will close in 0 seconds