बिषाक्त रक्सी सेवनका कारण तीनको मृत्यु, तीन सिकिस्त

राजेश कुशवाहा
213 पाठक संख्या

बारा : विषाक्त रक्सी सेवनको कारण बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ पचगछिया टोलमा सोमबार राति तीन जनाको मृत्यु भएको छ। तीन जना सिकिस्त बिरामी परेका छन्।

मृत्यु हुनेमा पचगछिया टोल बस्ने ४० वर्षीय गोपाल राय, सोही टोल बस्ने २३ वर्षीय रविशंकर प्रसाद यादव र ५५ वर्षीय एजाजुल मिया रहेको स्थानीय बिनोद गिरीले जनाएका छन्। उक्त पसलमा रक्सी सेवन गरेका स्थानीय असेसर राय, भारत बस्ने अख्तर मियाँ, वकिल मियाँ सिकिस्त बिरामी परेका छन्।

सिकिस्त बिरामीहरुलाई उपचारको लागि भारतको मोतिहारी लगिएको गिरीले बताए। मृतक तीनै जनाको राती नै अन्तिम संस्कार गरिएको छ। यता प्रहरी नायब उपरीक्षक एवम् बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले घटनाबारे प्रहरीमा कुनै जानकारी नआएको बताउदै जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईने बताएका छन्।

उनीहरु आईतबार पचगछिया टोल ट्रान्सफरमर छेउमा रामपुकार यादवले सञ्चालन गरेको रक्सी पसलमा रक्सी सेवन गरेका थिए। भारतको बिहार सरकारले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सीमावर्ति क्षेत्रका भारतीय नागरिकहरु नेपालमा आएर रक्सी सेवन गर्ने गर्छन्। यता विगत सात बर्ष देखि नेपालको सीमावर्ती क्षेत्रमा दर्जनौ मदिरा पसल खुलेका छन।

Leave a review