रौतहट । विद्यालय समिति गठनको विवादका कारण रौतहटको एक विद्यालयमा तालाबन्दी भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका स्थित फत्तेपुरमा रहेको एक आधारभुत विद्यालयमा तालाबन्दी गरिएको हो । विद्यालयमा तदर्थ समिति गठनका विषयमा विवाद चुलिएपछि विवाद उत्पन्न भएको छ।
कटहरियाका नगरप्रमुख अजय प्रकाश जैसवालको निर्देशनमा ‘अभिभावक नै नभएको व्यक्तिलाई’ अध्यक्ष बनाएर तदर्थ समिति गठन गरिएको भन्दै आक्रोसित अभिभावक र स्थानीयले तालाबन्दी गरेका हुन ।
नगर शिक्षा समितिको बैठकको निणर्यको आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवको हस्ताक्षर रहेको निर्णयपत्र लिएर अभिभावक नै नभएका उमेश कुमार सहनीलाई अध्यक्ष सहित अन्यलाई समावेश गरी समिति गठन भएपछि अभिभावक तथा अन्य विद्यालय पुगेपछि विवाद भएको हो।
नगरपालिका वडा ६ का अध्यक्ष जयराम चौधरी सहित अभिभावक एवम् युवाहरुका टिमले नगरप्रमुखले मनपरी गरेको भन्दै विद्यालय परिसरमै आकस्मिक छलफल गरेका थिए। उनीहरूले दर्ता पुस्तिका खोसेर प्रधानाध्यापक पवन चौधरीलाई कक्षाबाहिर निकाल्दै कार्यकक्षमा तालाबन्दी गरेका एक स्थानीयले जानकारी दिए ।
यता वडा वडा अध्यक्ष चौधरीकै पहलमा शनिबार विद्यालयमै स्थानीय जनप्रतिनिधि, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा भद्रभलादमीको सर्वपक्षीय भेला बस्ने सहमति गरिएको र सोही सहमतिकै आधारमा विद्यालय तदर्थ समिति बनाईने बताईएको छ ।

