कलैया : जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न कुनै कमी–कसर बाँकी नराखिने बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले अपराध नियन्त्रण, सामाजिक सद्भाव र विधिको शासन कायम गर्न आफू सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । एसपी कुँवरले जिल्लामा हुने विभिन्न सुरक्षा चुनौतीलाई संवेदनशील रूपमा लिएर प्रहरी संगठनले प्रभावकारी कार्ययोजना अघि सार्ने बताए।
“सुरक्षामा कुनै सम्झौता हुँदैन ” नागरिकको विश्वास जित्ने गरी प्रहरी परिचालन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनेछ,” उनले भने। कार्यक्रममा पत्रकारहरुसँग सहकार्य गर्दै पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रवाहमा सहयोग अपेक्षा गरिएको पनि एसपी कुवरले बताए। प्रहरी उपरिक्षक कुँवरले राज्यले दिएको जिम्मेवारी बहन गर्न आफु प्रतिबद्ध रहेको समेत बताए । उनले सञ्चारकर्मीको सुरक्षा प्रति गम्भिर रहेको समेत जनाए ।
उक्त कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले स्वच्छ र निष्पक्ष रुपमा न्याय दिन आग्रह गरेका थिए। उनीहरुले बाराका स्व पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न मुख्य अभियुक्तलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । पत्रकार भेटघाट कार्यक्रममा जिल्लाको दुई दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
भर्खरै सरुवा भई जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षकका रुपमा कार्यभार सम्हालेसंगै पत्रकारहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका हुन । यसअघिका प्रहरी उपरिक्षक सन्तोष तामाङ्गको सरुवा भएपछि उनको स्थानमा प्रहरी उपरिक्षक कुँवर आएका हुन ।


