कलैया । बारामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको परवानीपुर गाउँपालिका–०४ स्थित स्वास्थ्य चौकी नजिक उत्तरबाट दक्षिणतर्फ बग्ने सेकेन्ड्री नहरको कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय परवानीपुरमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरसहितको टोली घटनास्थलमा खटिएर प्रारम्भिक अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा मृतकले कालो रंगको पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको तथा मृतकको नाम अजय यादव रहेको बुझिएको छ । तर मृतकको यकिन वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको र थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।


