लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
240 पाठक संख्या

कलैया : लागुऔषध मुद्दामा अदालतबाट सजाय पाएपछि फरार रहेका दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निजगढ नगरपालिका–२ सिंगौलबाट ३० वर्षीय गोपाल श्रेष्ठ पक्राउ परेका हुन्। बारा जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। फैसला पश्चात फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

यसैगरी, कोल्हवी नगरपालिका–६ प्रसौनाबाट २३ वर्षीय बच्चाबाबु चौधरी पक्राउ परेका छन्। अदालतले उनलाई लागुऔषध मुद्दामा एक महिना कैद सजाय सुनाएपछि उनी फरार थिए। इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको टोलीले चौधरीलाई पनि आफ्नै घर आसपासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ।

Leave a review