अपाङ्गता भएका महिला-किशोरी लक्षित रुपान्तरणमुखी कार्यक्रम

संदिप प्रसाद यादव
219 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अपाङ्गता भएका महिला–किशोरी लक्षित रुपान्तरणमुखी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्तीकरण, समावेशी शासन प्रवद्र्धन तथा हिंसामुक्त वातावरण निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मुक्ति नेपाल, गोलबजार (सिरहा) को आयोजनामा सञ्चालन हुने उक्त परियोजना चार वर्षसम्म कार्यान्वयन गरिनेछ। परियोजनाको मुख्य लक्ष्य अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई हिंसामुक्त बनाउँदै सम्मानजनक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको छ।

परियोजनाकी कार्यकारी निर्देशक श्यामकुमारी साहका अनुसार स्थानीय सरकार, न्यायिक संयन्त्र र सेवा प्रदायक निकायहरूमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी बुझाइ अभिवृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।

साथै स्थानीय तहमा उपलब्ध सेवा, पूर्वाधार तथा भौतिक संरचनालाई अपाङ्गता–समावेशी बनाउँदै पहुँच विस्तार गरिने बताईएको छ । लैङ्गिक हिंसाबाट प्रभावित महिला–किशोरी तथा उनीहरूका परिवारलाई न्यायमा पहुँच पु-याउने, आवश्यक सेवा र संरक्षण सुनिश्चित गर्ने कार्य पनि परियोजनाको प्राथमिकतामा रहेको आयोजक संस्थाले जनाएको छ ।

बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a review