बारामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम सुरु

साझेदारी डेलि
792 पाठक संख्या

कोल्हवी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम सुरु गरिएको छ।

आइतबारदेखि सुरु भएको तालिमअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गतका मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो। कोल्हवीस्थित अनुपदिपनी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको तालिममा सम्बन्धित क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरू सहभागी छन्।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं. १ मा खटिने ३२२ जनामध्ये ३१९ जना कर्मचारी तालिममा सहभागी भएका छन्। तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य र अधिकारका विषयमा विस्तृत जानकारी दिइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मतदान प्रक्रियाको व्यवस्थापन, मतदाता सहजीकरण तथा कानुनी प्रावधानबारे प्रशिक्षण दिएका छन्। त्यस्तै, मतदानका क्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी गराएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका गणपति विशाल सिलवाल, श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला तथा बारा क्षेत्र नं. १, २ र ३ का निर्वाचन अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

यसैबीच, क्षेत्र नं. २ का लागि फागुन ११ गते आज बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माविमा तालिम सञ्चालन गरिनेछ। क्षेत्र नं. ३ का लागि फागुन १२ गते कलैयाको श्री ३ चन्द्र मावि तथा क्षेत्र नं. ४ का लागि फागुन १३ गते जीतपुरसिमरा–९ स्थित श्री नेरामावि छातापिपरामा तालिम आयोजना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave a review

This will close in 0 seconds