बारामा भूतपूर्व सैनिक पुनर्मिलन कार्यक्रम सम्पन्न

साझेदारी डेलि
240 पाठक संख्या

कलैया । बाराको जीतपुरस्थित नेपाली सेनाको श्री नं. २८ बाहिनी मुख्यालयमा बिहीबार “भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम” सम्पन्न भएको छ।

नेपाली सेनाबाट अवकाश प्राप्त सैनिकहरूले पु-याएको योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका करिब ८ सय भूतपूर्व सैनिक तथा एकल महिलाको सहभागिता रहेको थियो।

कार्यक्रममा श्री नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मिलन तुलाचन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सो अवसरमा एक जना अशक्त भूतपूर्व सैनिकलाई ह्वीलचेयर वितरण गरिएको थियो।

त्यसैगरी, सहभागीहरूलाई नेपाली सेनाको कल्याणकारी निर्देशनालयबाट विभिन्न सामग्री वितरण गरिएको थियो भने करिब १५० जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि पनि प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रमले भूतपूर्व सैनिकहरूको सम्मान गर्दै उनीहरूमा संगठनप्रतिको जिम्मेवारीबोध थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a review