बनावटी अडियो काण्ड : प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमसेर ज.ब.रा. निलम्बन प्रक्रियामा

साझेदारी डेलि
148 पाठक संख्या

कलैया । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमसेर ज.ब.रा.माथि बनावटी अडियो तयार गरी कार्यालय प्रमुख तथा प्रहरी संगठनलाई बदनाम गराउने प्रयास गरेको आरोप लगाउँदै निलम्बन प्रक्रिया अगाडि बढाएको छ।

सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उनले एक व्यापारीलाई आफैं फोन गरी काल्पनिक कथा रचेको अडियो तयार पारेर विभिन्न सञ्चार माध्यममार्फत प्रसारण गर्न लगाएको आरोप लागेको छ। यस्तो कार्यले प्रहरी संगठनलाई बदनाम गर्ने उद्देश्य राखेको र प्रहरी आचरण विपरीत रहेको बताइएको छ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम उनलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको जनाइएको छ। साथै घटनाबारे थप अनुसन्धान तथा छानबिन कार्य जारी रहेको र सत्यतथ्य विवरण पछि सार्वजनिक गरिने प्रहरी कार्यालयले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले आम सञ्चार माध्यम तथा नागरिकलाई यस्ता भ्रामक र तथ्यहीन सूचनामा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीमा मात्र भरोसा गर्न अपिल गरेको छ।

Leave a review