बारा,११ वैशाख । बाराको मानमत-कलैया-मटिअर्वा सडकखण्ड निर्माणमा चरम लापरबाही गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय वीरगन्जले एक सुचना जारि गर्दै निर्माण व्यवसायी सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी. काठमाडौं सँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।

ठेक्का नं. HRP/337011284/077-78/UR-005 अन्तर्गत बाँकी रहेको मानमत-कलैया-मटिअर्वा सडक स्तरोन्नति कार्यका लागि कम्पनीलाई पटक-पटक म्याद थप गरिए पनि निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न चासो नदेखाएको योजना कार्यालय वीरगन्जले जनाएको छ।
निर्देशनालयका अनुसार निर्माण कम्पनीले लामो समयदेखि सडक अधुरो छाड्दा सडक धुलाम्य र हिलाम्य बनेको थियो। यसले सवारी दुर्घटना बढ्नुका साथै स्थानीयवासीको जनजीवन अत्यन्त जोखिमपूर्ण र कष्टकर बनेको थियो।
कार्यालयले पटक–पटक लिखित तथा मौखिक रूपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको र कम्पनीले स्वयं लिखित प्रतिबद्धता जनाए पनि कार्यप्रगति नभएपछि गत २०८२ असोज ३१ गते १५ दिने अन्तिम स्पष्टीकरण सूचना प्रकाशित गरिएको थियो। तर, त्यसपछि पनि सन्तोषजनक प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का तोड्ने निर्णय गरिएको हो।
कार्यालयले अब निर्माण कम्पनीको कार्यसम्पादन जमानत रकम जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने अतिरिक्त रकम सरकारी बाँकीसरह असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ।
साथै हालसम्म भएको कामको नापजाँच, मूल्यांकन र वित्तीय फरफारखका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा उपस्थित हुन कम्पनीलाई अन्तिम मौका दिइएको छ। तोकिएको समयभित्र उपस्थित नभए कार्यालयले एकतर्फी रूपमा नापजाँच प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

