बारा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अनुसार बारा जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४६ प्रतिशतले मात्र ग्रेड प्राप्त गरेका छन् ।
नतिजा सार्वजनिक भएको २४ घण्टा पछि शिक्षा विकास तथा समन्वय इकाइ बाराले सार्वजनिक गरेको जिल्लाको कुल नतिजामा साधारण र प्राविधिक गरी दुई धारमा विभाजन गरिएको छ। साधारण तर्फ कुल ८ हजार ३ सय ७७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
जसमध्ये मात्र ३ हजार ८ सय ९९ जना विद्यार्थी अर्थात् ४६.५४ प्रतिशतले मात्र ग्रेड हासिल गर्न सफल भएका छन्। साधारण धारतर्फ ५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्। साधारण तर्फ ४ हजार ४ सय ७८ जना विद्यार्थीको नतिजा नन्-ग्रेडेड आएको छ।
त्यसैगरी, प्राविधिक धारतर्फ सहभागी भएका ३ सय ७६ विद्यार्थीमध्ये १ सय ८९ जना (५०.२६ प्रतिशत) उत्तीर्ण भएका छन्। प्राविधिकतर्फ १ सय ८७ जना विद्यार्थीको नतिजा नन्-ग्रेडेड आएको छ।
जिल्लाको समग्र ग्रेड विभाजनलाई हेर्दा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३०६ रहेको छ । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५४ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ३५ रहेको छ।

