वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न सिमानाकाबाट संगठित रूपमा तस्करी भइरहेको आरोपबीच जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम इन्चार्ज वरिष्ठ सई लोकेन्द्र पण्डितमाथि तस्करीलाई संरक्षण दिएको गम्भीर आरोप लागेको छ।
स्रोतका अनुसार भारतसँग जोडिएका छपकैया, इनर्वा, सिर्सिया, ड्राइपोर्ट, अमरपट्टी, प्रसौनीभाठ्ठा, भिस्वा, जानकीटोला लगायतका नाकाबाट लत्ताकपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, जुत्ता–चप्पल, गुट्खा, खाद्यान्न, कुखुराको चल्ला, माछा तथा पशुजन्य सामग्रीको अवैध ओसारपसार भइरहेको छ। उक्त गतिविधि नियन्त्रण गर्नुको सट्टा प्रहरीकै केही व्यक्तिहरूको संरक्षणमा सञ्चालन भइरहेको दाबी गरिएको छ।
स्रोतले वरिष्ठ सई पण्डितले आफ्ना विश्वासपात्र प्रहरी जवान तथा विभिन्न चौकीमा खटिएका प्रहरीमार्फत ‘घुमुवा नेटवर्क’ सञ्चालन गरी तस्करीबाट नियमित रकम असुली गरिरहेको आरोप लगाएको छ। विभिन्न प्रहरी चौकी तथा वडा प्रहरी कार्यालयमा अनौपचारिक रूपमा परिचालित घुमुवामार्फत रकम संकलन हुने गरेको दाबी स्रोतको छ।
पर्सा प्रहरीको तथ्यांकअनुसार पछिल्लो डेढ वर्षमा करोडौं रुपैयाँ बराबरका अवैध सामान बरामद भए पनि अधिकांश घटनामा मुख्य कारोबारी वा तस्करमाथि प्रभावकारी कानुनी कारबाही भएको देखिँदैन। यसले बरामदी कारबाही केवल देखावटी मात्र भएको र पछि ‘सेटिङ’ मिलाएर कारोबार सञ्चालन हुने गरेको आशंका बलियो बनाएको छ।
स्रोतका अनुसार जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकको जानकारीबिना यति ठूलो स्तरको अवैध कारोबार सम्भव नहुने भन्दै उच्च तहसम्म मिलेमतो रहेको आरोपसमेत उठाइएको छ। यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा एसपी पाठकले पहिलो पटक सन्देशमार्फत जवाफ दिन आग्रह गरेका थिए भने त्यसपछि गरिएको फोन सम्पर्कमा प्रतिक्रिया प्राप्त हुन सकेन। सथै यस विषयमा प्रतिक्रिया लिन खोज्दा वरिष्ठ सई लोकेन्द्र पण्डितले फोन कलमा सर्म्पक गर्न मानेन।
पर्साको खुला सिमानाबाट हुने तस्करी नियन्त्रणका लागि राज्यले ठूलो स्रोतसाधन परिचालन गरे पनि तस्करी झन् मौलाउँदै गएको गुनासो स्थानीयवासीको छ। आरोपहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ।


