गन्जभवानीपुर । बाराको गन्जभवानीपुर क्षेत्रका विभिन्न बस्तीमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुने भट्ठीहरू प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा गम्भीर चासो र असन्तुष्टि बढेको छ।
स्थानीय स्रोतका अनुसार गन्जभवानीपुर प्रहरी चौकीमा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रवीण मिश्र आएयता उक्त क्षेत्रमा करिब एक दर्जनभन्दा बढी घरेलु मदिरा भट्ठी निर्बाध रूपमा सञ्चालन भइरहेका छन्। अवैध मदिरा उत्पादन तथा कारोबारमा संलग्न व्यक्तिहरूसँग मासिक ७५ हजार रुपैयाँसम्म आर्थिक लेनदेन हुने गरेको स्थानीयवासीको दाबी छ।
स्रोतका अनुसार चौकी इन्चार्ज मिश्रले जेपी साह भनिने एक हवल्दारलाई अनौपचारिक रूपमा परिचालन गरी घरेलु मदिरा व्यवसायीहरूबाट मासिक रकम संकलन गर्ने गरेको आरोप लगाइएको छ। त्यस्तै, क्षेत्रका दुई स्थानमा सञ्चालन हुने जुवाखालबाट समेत मासिक ३० हजार रुपैयाँ उठाइने गरेको स्थानीयको दाबी छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
स्थानीयवासीका अनुसार प्रभु नुनिया, भोला चमार, रामानन्द जैसवाल, बिगा चमार, जयराम चमार, खुबलाल चमार, असपताली राम, शोभी चमार तथा राजधारी चमारको बुहारीलगायत व्यक्तिहरू विभिन्न स्थानमा अवैध घरेलु मदिरा उत्पादनमा संलग्न रहेका छन्। ती भट्ठीबाट उत्पादित मदिरा मटिअर्वा, निलकन्ठवा, बसतपुर, कलैयालगायत आसपासका गाउँ तथा बजार क्षेत्रमा बिक्री–वितरण हुने गरेको जनाइएको छ।
स्थानीयवासीले अवैध घरेलु मदिरा उत्पादनका कारण वातावरणीय प्रदूषण, दुर्गन्ध तथा सामाजिक विकृति बढ्दै गएको गुनासो गरेका छन्। मदिरा पकाउने क्रममा निस्कने धुवाँ र दुर्गन्धका कारण बस्तीमा बस्नसमेत कठिन भएको उनीहरूको भनाइ छ। साथै, यस्ता गतिविधिले युवापुस्तामा कुलत बढाउने, घरेलु हिंसा र सामाजिक असुरक्षा निम्त्याउने जोखिम बढाएको स्थानीयको चिन्ता छ।
स्थानीय विजय जैसवालले अवैध मदिरा भट्ठीका कारण बस्तीको वातावरण दिनप्रतिदिन दूषित बन्दै गएको बताउँदै सम्बन्धित निकायले समयमै नियन्त्रण नगरे अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिए। “मदिराको दुर्गन्धले दैनिक जीवन नै प्रभावित भएको छ। यसबारे पटकपटक प्रहरी चौकीलाई जानकारी गराउँदा पनि कुनै ठोस पहल भएको देखिएको छैन,” उनले भने।
बारा जिल्लामा पछिल्ला वर्षहरूमा घरेलु मदिरा उत्पादन तथा बिक्री नियन्त्रणका लागि प्रहरी र स्थानीय प्रशासनले विभिन्न अभियान सञ्चालन गर्दै आए पनि ग्रामीण क्षेत्रमा अझै पनि लुकीछिपी यस्ता गतिविधि जारी रहेको स्थानीयको भनाइ छ। विज्ञहरूका अनुसार अनियन्त्रित घरेलु मदिरा उत्पादनले स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै राजस्व चुहावट, सामाजिक विकृति र सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीसमेत निम्त्याउने गर्छ।
यता, गन्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रवीण मिश्रसँग आरोपबारे प्रतिक्रिया लिन खोज्दा उनी केही बाेलन चाहेनन् । जिल्ला प्रहरी कार्यालय बाराका उच्च अधिकारीसँग पनि धारणा लिन खोजिए पनि समाचार तयार पार्दासम्म प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
स्थानीयवासीले घटनाबारे निष्पक्ष छानबिन गरी अवैध घरेलु मदिरा उत्पादन तथा त्यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न तथा आरोपित प्रहरी कर्मचारीमाथि समेत सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारासँग माग गरेका छन्।


