ओभरटेक गर्दा दुर्घटना : कलैयामा टिप्परको ठक्करबाट बालकसहित ३ जना घाइते

साझेदारी डेलि
139 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–९ रामपुरमा सोमबार राति टिप्परले ठक्कर दिँदा घरको आँगनमा बसिरहेका एकै गाउँका तीन जना घाइते भएका छन् ।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ४ ख ७८८२ नम्बरको ट्रकलाई सोही दिशाबाट तीव्र गतिमा पछाडिबाट आउँदै गरेको रा १ ख १५३६ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडक छेउको घरको आँगनमा बसिरहेका स्थानीयलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परी कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३५ वर्षीय सैमुदिन अंसारी, १७ वर्षीय तबरेज आलाम र २ वर्षीय बालक समर अली घाइते भएका छन् । घाइतेमध्ये सैमुदिन अंसारीको खुट्टाको थाई र कुर्कुच्चामा गम्भीर चोट लागेको छ ।

उनलाई प्रादेशिक अस्पताल कलैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित सर्वोत्तम अस्पताल पठाइएको छ र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

यस्तै, हातमा चोट लागेका तबरेज आलमको प्रादेशिक अस्पताल कलैयामै उपचार भइरहेको र अवस्था सामान्य रहेको छ भने सैमुदिनका २ वर्षीय छोरा समर अलीको बायाँ खुट्टामा चोट लागेको र उनको पनि सोही अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी सहायक निरीक्षक रमेश चनउ र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रा १ ख १५३६ नम्बरका टिप्पर चालक कलैया–११ बस्ने २५ वर्षीय रवी राम र ना ४ ख ७८८२ नम्बरका ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका–११ बस्ने ५० वर्षीय लक्ष्मी नारायण सहनी रहेका छन् ।

नियन्त्रणमा लिइएका दुवै चालक र सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds