कलैया । बाराको पचरौता नगरपालिका-४ बेल्दारीमा सर्पले टोकेपछी १९ महिनाका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा संजय रामका १९ महिने छोरा धनजय राम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान बालककी आमा सोनापती देवी राम स्थानीय रविन्द्र यादवको मकै खेतमा ज्यालादारी काम गर्न गएकी थिइन्। सोही क्रममा मकैबारीमा खेलिरहेका धनजयलाई दाहिने खुट्टामा सर्पले टोकेको थियो।
सर्पले टोकेपछि बालकको उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो। तर अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा बालकको बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा टोली खटिएको थियो।
बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृतक बालकको शव उनका हजुरबुवा रामरेख रामले बुझिलिएका छन्।


