ओभरलोड सवारी नियन्त्रणमा मधेस ट्राफिक सक्रिय, वर्षभरिमा सवा करोडभन्दा बढी जरिवाना असुल

साझेदारी डेलि
45 पाठक संख्या

पथलैया । मधेस प्रदेशमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनमाथि ट्राफिक प्रहरीले चालु आर्थिक वर्षभरि विशेष निगरानी सञ्चालन गरेको छ।

अभियानका क्रममा असार १ गतेसम्म ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् भने ती सवारीबाट एक करोड ३१ लाख ५८ हजार ४५८ रुपैयाँ राजस्व संकलन भएको छ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेशले सार्वजनिक गरेको विवरणअनुसार पथलैयास्थित प्रादेशिक कार्यालयसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ट्राफिक इकाइले संयुक्त रूपमा ओभरलोड सवारीको निगरानी र कारबाहीलाई तीव्र बनाएका हुन्। यस अवधिमा सप्तरीमा भने ओभरलोडका कारण कुनै पनि सवारीसाधन कारबाहीमा परेको अभिलेख छैन।

तथ्यांकअनुसार सबैभन्दा धेरै कारबाही पर्सा जिल्लामा भएको छ। त्यहाँ ३९४ वटा सवारीसाधनमाथि कारबाही हुँदा ५६ लाख २३ हजार ८२८ रुपैयाँ जरिवाना असुल भएको छ। त्यसपछि महोत्तरीमा ३० वटा सवारीसाधनबाट ७ लाख ८६ हजार ९८ रुपैयाँ, सर्लाहीमा २५ वटा सवारीसाधनबाट ५ लाख ९६ हजार ८१७ रुपैयाँ तथा धनुषामा १८ वटा सवारीसाधनबाट ३ लाख ६४ हजार ३९३ रुपैयाँ जरिवाना संकलन गरिएको छ।

त्यसैगरी रौतहटमा १२ वटा सवारीसाधनबाट २ लाख ३९ हजार २२५ रुपैयाँ, बारामा सात वटा सवारीसाधनबाट ८२ हजार ६२९ रुपैयाँ र सिरहामा एउटा सवारीसाधनबाट ६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पथलैया स्थित मेधस प्रदेशका ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ओभरलोडको स्तर हेरेर कारबाहीको प्रक्रिया निर्धारण गरिन्छ। सामान्य उल्लंघन गर्ने सवारीलाई ट्राफिक कार्यालयबाटै जरिवाना गरिने भए पनि अत्यधिक भार बोकेका सवारीलाई थप कानुनी प्रक्रिया पूरा गर्न यातायात व्यवस्था कार्यालय पठाइन्छ।

उनले क्षमताभन्दा बढी लोड गरिएको सामान अनलोड नगरेसम्म कुनै पनि सवारीलाई यात्रा जारी राख्न अनुमति नदिने व्यवस्था प्रभावकारी रूपमा लागू गरिएको बताए। ट्राफिक प्रहरीका अनुसार ओभरलोड नियन्त्रणको मुख्य उद्देश्य सडकको आयु जोगाउनु, दुर्घटनाको जोखिम घटाउनु र सुरक्षित यातायात प्रणाली कायम गर्नु हो।

Leave a review

This will close in 0 seconds