डुमरवाना । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डमरवानामा सञ्चालनमा रहेको प्रोग्रेस एजुकेसन एकेडेमीले आईतबार विद्यार्थी, अभिभावक र शिक्षकलाई विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा पहिलो पटक सहभागी हुँदै शतप्रतिशत नतिजा हासिल गरेपछि त्यस सफलतामा योगदान पुर्याउने विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरेको हो ।
आइतबार आयोजित विशेष कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूका अभिभावक र अध्यापनमा संलग्न शिक्षकहरूलाई सम्मा गरेको छ । विद्यालयका प्रिन्सिपल शान्ताराम खनालका अनुसार पहिलो ब्याचबाटै शतप्रतिशत सफलता प्राप्त हुनु विद्यालयका लागि गर्वको विषय बनेको छ।
विद्यालयले ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप कक्षा १२ अध्ययन अवधिमा बुझाएको सम्पूर्ण मासिक शुल्क बराबरको ३६ हजार रुपैयाँको अक्षरेपी चेक प्रदान गरेको जनाएको छ। विद्यालयका अनुसार यस किसिमको पुरस्कारले आगामी दिनमा विद्यार्थीहरूलाई अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
सम्मान समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम सिवाकोटी, प्याब्सन बारा अध्यक्ष राजु कार्की, प्रमुख सल्लाहकार नेत्रप्रसाद दाहाल, डुमरवाना पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल अनिल तिवारी, एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण रजतलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जित सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले पहिलो प्रयासमै विद्यालयले हासिल गरेको उपलब्धिलाई प्रेरणादायी भन्दै प्रशंसा गरे। उनीहरूले गुणस्तरीय शिक्षाप्रति विद्यालयले देखाएको प्रतिबद्धतालाई निरन्तर कायम राख्न आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरे।
स्थानीय शिक्षा क्षेत्रमा नयाँ आशा र उत्साह जगाएको यस उपलब्धिले प्रोग्रेस एजुकेसन एकेडेमीलाई जिल्लाकै सम्भावनायुक्त शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।


