रौतहट । रौतहटको गुजरा नगरपालिकामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।
गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुर टोलमा शुक्रबार बिहान करिब १०:३० बजे धारिलो हतियार प्रहारबाट स्थानीय एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनु देवी जयसवालमाथि खुकुरी प्रहार भएको थियो।
उनलाई आफ्नै टोलमा बस्दै आएका बारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्बर ८, ईटहर बेलाही टोल घर भएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन्।
धारिलो हतियारको गम्भीर चोटका कारण रेनु देवीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। घटनालगत्तै आक्रोशित बनेका स्थानीय बासिन्दाले आरोपित उपेन्द्रमाथि नियन्त्रणमा लिई कुटपिट गरेका थिए।
स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका आरोपित उपेन्द्रको अहिले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा कडा सुरक्षाका बीच उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्का उठाउने तथा कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जनाएको छ।
घटना के कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


