नक्कली भरपाई बनाएर बाल संरक्षण भत्ता हिनामिना, तीन जनाविरुद्ध आरोपपत्र दायर

साझेदारी डेलि
61 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा शुक्रबार आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा बाल संरक्षण भत्ताका लागि जिल्ला विकास समिति, महोत्तरीबाट साविक भरतपुर गाविसमा निकासा भएको ३ लाख ७ हजार २ सय रुपैयाँ सम्बन्धित लाभग्राहीलाई वितरण नगरी नक्कली भरपाई तयार गरी रकम हिनामिना गरिएको हो।

अनुसन्धानका क्रममा तत्कालीन भरतपुर गाविसका कार्यालय सहायक उमाकान्त महतोले तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समिति, महोत्तरीका सहायक लेखापाल सुरुज साहसँगको मिलेमतोमा लाभग्राहीलाई भत्ता वितरण गरेको देखिने नक्कली भरपाई तयार गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार नक्कली भरपाईमा लाभग्राहीबाहेक अन्य व्यक्तिलाई सहीछाप तथा औँठाछाप गर्न लगाई पेश्की फर्छ्यौट गराएर सरकारी रकम हिनामिना गरेको प्रयोगशाला परीक्षणबाट समेत पुष्टि भएको छ।

आयोगले तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक तथा हाल गौशाला नगरपालिका–४ का वडा सचिव (सहायक पाँचौँ) उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति, महोत्तरीका सहायक लेखापाल तथा हाल भंगाहा नगरपालिकामा कार्यरत अधिकृत (छैठौँ) सुरुज साहविरुद्ध जनही ३ लाख ७ हजार २ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ।

त्यसैगरी, नक्कली लिखत तयार गरी पेश्की फर्छ्यौट गरेको कसुरमा भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम समेत कैद र जरिवाना सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Leave a review

This will close in 0 seconds