जीतपुर । रातिको समयमा सडक तथा पुलका जोखिमयुक्त भाग पहिचान गर्न सहज बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका–१८ का विभिन्न स्थानमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ।
अभियानअन्तर्गत मंगलबार बडहर्वास्थित मौवापैनी पुलको दुवैतर्फ ड्रम र बाँसका खम्बामा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ। अँध्यारोमा सडकको जोखिमपूर्ण भाग चालकले टाढैबाट देख्न सकून् भन्ने उद्देश्यले स्टिकर राखिएको हो।
नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले उपलब्ध गराएको स्टिकर प्रयोग गरी अभियान अघि बढाइएको हो। वडा अध्यक्ष चतुरबाबु वाग्लेको उपस्थितिमा स्थानीयवासी, सामाजिक अगुवा तथा प्रहरीको सहभागितामा पुल क्षेत्रमा स्टिकर राखिएको थियो।
अभियानमा नेकपा एमाले बारा जिल्ला सचिवालय सदस्य बसन्त खतिवडा, मौवादेवी युवा क्लब बडहर्वाका अध्यक्ष निर्मल कुमार यादव, सचिव जगदिप कोइरालालगायत सहभागी थिए। सामाजिक अगुवा भरत सुहाल, प्रहरी चौकी जैतापुरका निमित्त प्रमुख हवल्दार रामप्रित चौधरी तथा ट्राफिक प्रहरी पोस्ट पिलुवाका इन्चार्ज रामजनम रायले पनि अभियानमा साथ दिएका थिए।
ग्रामीण क्षेत्रमा सडकको कमजोर अवस्था, पर्याप्त संकेतको अभाव तथा चालकको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढिरहेको सरोकारवालाहरूको भनाइ छ। मुख्य राजमार्गसँगै गाउँका भित्री सडकमा पनि रातिको समयमा जोखिमयुक्त स्थान पहिचान गर्न कठिन हुने भएकाले रिफ्लेक्टिभ स्टिकर उपयोगी हुने अपेक्षा गरिएको छ।


