सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन

साझेदारी डेलि
115 पाठक संख्या

कलैया । सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको निरीक्षण भ्रमणका क्रममा बाहिनीपति भट्टले मातहतका कमाण्डर तथा सशस्त्र प्रहरी कर्मचारीहरूलाई यस्तो किसिमको कडा निर्देशन दिएका हुन्।

उनले गणको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रमा भइरहेको परिचालन, सीमा अपराध नियन्त्रण तथा चोरी–तस्करी नियन्त्रणका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए। खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–पैठारी, तस्करी, अवैध ओसारपसार, लागुऔषध, अवैध हातहतियार तथा अन्य प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रण गर्न उनले निर्देशन दिए। उनले उच्च सतर्कता र सक्रियताका साथ परिचालित हुन निर्देशन दिएका हुन्।

सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी वा लापरबाही स्वीकार्य नहुने उनले स्पष्ट पारे।सीमा सुरक्षालाई संगठनको महत्वपूर्ण जिम्मेवारी रहेको बताए।

उनले आफ्नो जिम्मेवारी क्षेत्रमा देखापर्न सक्ने सुरक्षा चुनौती तथा सीमा अपराधका प्रवृत्तिको निरन्तर विश्लेषण गर्न कमाण्डरहरूलाई निर्देशन दिएका हुन्। मुख्य नाकाका अतिरिक्त संवेदनशील क्षेत्रमा आकस्मिक गस्ती, चेकजाँच र निगरानीलाई थप प्रभावकारी बनाउन उनले जोड दिए। सीमा अपराध नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण तथा परिचालनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

स्थानीय सूचना संयन्त्रलाई प्रभावकारी बनाउन निर्देशन दिदै तस्करीका सम्भावित मार्ग, अपराधमा संलग्न व्यक्ति तथा अवैध गतिविधिका केन्द्रमाथि निरन्तर निगरानी राख्दै प्राप्त सूचनाका आधारमा परिणाममुखी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, भन्सार कार्यालय, स्थानीय प्रशासन तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउन उनले निर्देशन दिए। सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै निष्पक्ष, अनुशासित, इमानदार र व्यावसायिक रूपमा कार्यसम्पादन गर्न भट्टले निर्देशन दिए।

गैरकानुनी गतिविधिमा संलग्नता, कर्तव्यमा लापरबाही वा गैरव्यावसायिक व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनले स्पष्ट पारे। सीमा सुरक्षाको प्रभावकारिता राष्ट्रको सुरक्षा, आर्थिक हित, राजस्व संरक्षण तथा नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उनले बताए। प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई राष्ट्रसेवा र संगठनको प्रतिष्ठासँग जोडेर उच्च मनोबलका साथ निर्वाह गर्नुपर्ने बताए।

निरीक्षण भ्रमणका क्रममा नं. १२ गण हे.क्वा. बाराका गणपति विशाल सिलवाल तथा मातहतका कमाण्डरहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, चोरी–तस्करी नियन्त्रणमा भइरहेको परिचालन तथा आगामी कार्ययोजनाबारे बाहिनीपति भट्टसमक्ष जानकारी गराएका थिए।

Leave a review