बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

साझेदारी डेलि
396 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्पनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार राति करिब ८ः३० बजे वीरगन्ज–पथलैया सडकखण्डमा पूर्वतर्फको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवा निवासी ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ निवासी ३० वर्षीय दिलीप चौधरी गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि तत्काल वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। उपचारका क्रममा मंगलबार राति ९ः१० बजे चिकित्सकले दुवै जनाको ईसिजी गर्दा मृत घोषणा गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । साथै उक्त दुबै जनाको शव सोही अस्पतालमा रहेको छ ।

उनका अनुसार दुर्घटनापछि प्रहरीले ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका–७ निवासी करिब ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ । ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय सिमरा, बाराको नियन्त्रणमा राखिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा रहेको प्रवक्ता घलेले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a review