पर्सामा मोटरसाइकलको फल्स ट्यांकीबाट ९ किलो ५०० ग्राम चरेस बरामद

साझेदारी डेलि
41 पाठक संख्या

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा चरेससहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। भारततर्फ लैजान लागिएको अवस्थामा विशेष तरिकाले मोटरसाइकलमा लुकाएर राखिएको चरेस बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको मोबाइल गस्ती टोलीले मंगलबार भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा चरेस फेला पारेको जनाएको छ। जाँचका क्रममा मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर लागूऔषध लुकाइएको भेटिएको थियो।

सशस्त्र प्रहरीका अनुसार ट्यांकीबाट २१ वटा पोकामा राखिएको ९ किलो ५०० ग्राम चरेस बरामद भएको हो। चरेससँगै मोटरसाइकल चालक भारतीय नागरिक रहेको बताइएका युवक, एउटा मोबाइल फोन र लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार पक्राउ परेका युवकको नाम भने तत्काल सार्वजनिक गरिएको छैन। बरामद लागूऔषध र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मंगलबार नै वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको उनले जानकारी दिए।

Leave a review