जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर आसपासबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २० वर्षीय दिपु राउत कुर्मी रहेका छन्।
इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले शुक्रबार दिउँसो करिब २ बजे शंकास्पद अवस्थामा रहेका कुर्मीलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब एक ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। गढीमाई मन्दिर नजिक सडकको बायाँतर्फ रहेको सर्भिस लेनमा जाँच गर्ने क्रममा लागूऔषध भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका कुर्मीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनामा लागूऔषधको स्रोत तथा कारोबारसँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

