बारा । बाराको सिमरास्थित सेन्ट अल्फोन्साज स्कुल सिमरामा शैक्षिक प्रदर्शनी गरिएको छ। विद्यार्थीको सिर्जनात्मक क्षमता, व्यवहारिक ज्ञान तथा प्रस्तुतीकरण सीप विकास गर्ने उद्देश्यले विभिन्न विषयमा आधारित शैक्षिक प्रदर्शनी गरिएको हो।
विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा विज्ञान, कम्प्युटर, गणित, सामाजिक अध्ययन, अंग्रेजी र नेपाली विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा सिर्जनात्मक प्रस्तुति राखिएको थियो। विद्यार्थीहरूले आफूले अध्ययन गरेका विषयवस्तुलाई प्रयोगात्मक तथा आकर्षक ढंगले प्रस्तुत गरेका थिए।
प्रदर्शनीको उद्घाटन शिक्षा, युवा तथा खेलकुद बिकास महाशाखाका प्रमुख उपसचिव शिवजी प्रसादले गरेका थिए। प्रदर्शनीमा विद्यार्थीहरूले इतिहास, संस्कृति, सम्पदा तथा स्थानीय जीवनशैलीलाई समेत विभिन्न नमुना, सामग्री र प्रस्तुतीमार्फत जीवन्त रूपमा प्रस्तुत गरेका थिए।
विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रयोगात्मक सामग्रीदेखि गणितीय अवधारणा, कम्प्युटर प्रविधि, नेपाली तथा अंग्रेजी भाषाका सिर्जनात्मक सामग्री र सामाजिक अध्ययनसँग सम्बन्धित विषयवस्तु प्रदर्शनीमा समेटिएका थिए।
प्रदर्शनीले विद्यार्थीलाई कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न, आफ्ना सिर्जना प्रस्तुत गर्न तथा अनुसन्धान र प्रयोगमा आधारित सिकाइतर्फ प्रेरित गर्ने विद्यालयका प्रिन्सिपल सिस्टर टेरेसाले जानकारी दिइन्। प्रदर्शनीमा विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको थियो।

