बारामा तीनदिने यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक अभियान सुरु

संदिप प्रसाद यादव
401 पाठक संख्या

बारा । अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवस–२०८३ को अवसरमा बारामा तीनदिने यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट निकालिएको र्‍यालीले नगर परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित औपचारिक कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो ।

‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाज निर्माण गरौँ’ भन्ने नाराका साथ सञ्चालन भएको अभियान मंसिर १, २ र ३ गतेसम्म चल्नेछ । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा महिला अधिकारकर्मी निभा सिंहले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि कानुनी व्यवस्था र सामाजिक चेतना दुवै आवश्यक रहेको बताइन् । नेपालको संविधानमा महिला अधिकार तथा अपराधमा संलग्नलाई सजाय दिने विषयमा पर्याप्त व्यवस्था रहेको उल्लेख गर्दै उनले बालबालिकालाई कम उमेरमा विवाह नगर्न आग्रह गरिन् । साथै, बालबालिकालाई सचेत र सजग रहन पनि उनले आग्रह गरिन् । त्यसैगरी कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साहले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटनामा कानुनी प्रक्रिया प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षित समाज निर्माणका लागि महिला हिंसा, बाल हिंसा तथा यौनजन्य हिंसा रोकथाममा सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

उनले विगतदेखि नै समाजमा अपराधका घटना किन बढिरहेका छन् र सामाजिक संरचना किन अझै सुरक्षित बन्न सकेको छैन भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता, नेपालको संविधान तथा मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुनी व्यवस्थाले महिला, बालबालिका र लैङ्गिक समानताका विषयलाई सम्बोधन गरे पनि व्यवहारमा हिंसा तथा अपराधका घटना बढिरहनु चिन्ताको विषय भएको उनको भनाइ थियो । शिक्षा र चेतनाको कमी, गरिबी तथा अशिक्षाका कारण समाजमा अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै अधिकारीले कानुन बनाएर मात्र नहुने, त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनुपर्नेमा जोड दिए ।

उनले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथाम, बालअधिकारको संरक्षण र सामाजिक अपराध नियन्त्रणका लागि अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताए । अपराधमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उल्लेख गर्दै उनले कुनै पनि राजनीतिक, सामाजिक वा प्रशासनिक तहबाट अपराधीलाई संरक्षण गर्ने काम हुन नहुने स्पष्ट पारे । ‘अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ । यसका लागि सबै तह र तप्काका व्यक्ति एकजुट हुन आवश्यक छ,’ उनले भने ।

अधिकारीले सचेतनामूलक कार्यक्रमलाई तीन दिनमा मात्र सीमित नराखी सबै सरोकारवालासँग समन्वय गरेर निरन्तर अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताए । महिला नेतृत्वलाई सामाजिक कार्यमा प्रोत्साहन गर्दै सुरक्षित समाज निर्माणका लागि राजनीतिक दल, प्रशासन, प्रहरी, सामाजिक संघसंस्था र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरी, बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तीनदिने अभियानको मुख्य उद्देश्य महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाको प्रभावकारी रोकथाम, अनुसन्धान र न्यूनीकरण गर्नुका साथै यससम्बन्धी कानुनी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताए । यौनजन्य हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या नभई समग्र समाजको सुरक्षा, मानवीय मर्यादा र सामाजिक न्यायसँग जोडिएको गम्भीर विषय भएको उनले बताए ।

महिला तथा बालबालिका समाजका संवेदनशील र महत्त्वपूर्ण सदस्य भएकाले उनीहरूको सम्मान, सुरक्षा, स्वतन्त्रता तथा अधिकार सुनिश्चित गर्नु राज्य, प्रहरी, स्थानीय तह, परिवार र समुदाय सबैको साझा दायित्व रहेको एसपी कुँवरको भनाइ थियो ।

यस्ता हिंसाका घटना हुन नदिन समयमै सचेतना फैलाउने, पीडितलाई न्यायको पहुँचमा पुर्‍याउने, घटना तथा उजुरी प्रक्रियाबारे जानकारी गराउने र पीडितलाई आवश्यक संरक्षण उपलब्ध गराउने कार्यलाई अभियानले प्राथमिकता दिने उनले बताए । अभियानलाई प्रभावकारी बनाउन सरकारी वकिल, अदालत, प्रहरी तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरिने पनि उनले जानकारी दिए ।

बारामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल रहेको उल्लेख गर्दै एसपी कुँवरले पीडितलाई आवश्यक परेमा केही दिनका लागि अस्थायी आवास, भोजन तथा उपचारको व्यवस्था गर्न सकिने बताए । स्थानीय तहमा रहेका लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा लैङ्गिक हिंसा नियन्त्रण कोषसमेत परिचालन गरिने र त्यसको समन्वय जिल्ला प्रहरी कार्यालय बाराले गर्ने उनले जानकारी दिए । त्यस्तै, यस्ता घटनाको अनुसन्धानलाई प्रभावकारी, संवेदनशील तथा पीडितमैत्री बनाउने र अपराध रोकथाममा प्रहरी तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवश कुँवरले बारामा यौनजन्य तथा महिला हिंसासम्बन्धी मुद्दाको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरेका थिए । उनका अनुसार विगत सात वर्षको अभिलेख हेर्दा बारामा दोब्बर मुद्दा दर्ता भएको पाइएको छ ।

बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२/०८३ मा महिला हिंसा सम्बन्धि सबैभन्दा बढी ३०० भन्दा बढी मुद्दा कलैया उपमहानगरपालिकाका मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम विश्रामपुर गाउँपालिकाका आठवटा मुद्दा दर्ता भएका छन् ।

कार्यक्रममा श्री रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, महिला अधिकारकर्मी, विद्यार्थी, युवा, जेनजी एण्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले गरेका थिए भने सञ्चालन इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवश कुँवरले गरेका थिए ।

Leave a review