सुजित मेमोरियल टी-२० : कलैया–११ छ विकेटले विजयी

साझेदारी डेलि
375 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा मंगलवार भएको खेलमा कलैया उपमहानगरपालिका–११ छ विकेटले विजयी भएको छ ।

प्रतियोगिताअन्तर्गत भएको खेलमा कलैया–११ ले कलैया–१४ लाई पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कलैया–१४ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो । उसका लागि प्रवेज खानले ३२, सन्तलाल पटेलले २५ र रामबलक यादवले २४ रनको योगदान दिए ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कलैया–११ ले १२.४ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन बनाएर जित हात पार्‍यो । कलैया–११ का साजिरले २५ बलमा आक्रामक ४५ रन बनाए भने इब्राहिमले ३५ रनको योगदान दिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका कलैया उपमहानगरपालिका–११ का खेलाडी साजिर म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई बघवन स्वास्थ्य चौकीका प्रमुख महम्मद सहजाद अन्सारीले पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । आज दिउँसो १ बजेदेखि कलैया उपमहानगरपालिका–६ र ११ बीच खेल जारी रहेको छ।

Leave a review